काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा आज पनि विद्यालय शिक्षा विधेयक पारित नहुने भएको छ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग केही विषयमा सहमति गर्न बाँकी रहेको भन्दै थप समय मागेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि शिक्षक पदपूर्तिको विषयमा महासंघसँग सहमति भएको तर केही कुरा बाँकी भन्दै बैठक स्थगितको प्रस्ताव गरेका थिए । तर, सांसदहरूले बैठक नरोक्न चेतावनी दिएपछि बैठक अघि बढ्यो ।
आजको बैठकबाट विधेयक टुंग्याउन नसकेकोमा क्षमा माग्दै मन्त्री पन्तले भने, ‘महासंघलाई शिक्षक पदपूर्तिमा आन्तरिकतर्फ ६० प्रतिशत र खुलामा ४० प्रतिशतका लागिसहमत गरायौं । केही छलफल अझै टुंग्याउनुपर्ने देखियो । समय चाहिने भयो ।’
शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले भने भनेको सबै मान्नुपर्छ भनेर दम्भ नराख्न मन्त्रीलाई चेतावनी दिए ।
उनले भने, ‘भनेको सबै मान्नुपर्छ भन्ने सरकारको दम्भ नहोस् । कहिले सहमति भयो भन्ने, कहिले के भन्नाले मलाई दोधारमा पारिएको छ । हिजो ६०/४० को कुरा मिलेन, आज बढुवाको कुरा मिलेन । मन्त्री उपस्थित हुनुहुन्छ, समितिले निर्णय गरेको मान्नुपर्यो । कोही सदस्य आउँछ, कोही जान्छ । निर्णय उपस्थित सदस्यबाट हुने हो ।’
माओवादीका सांसद देवेन्द्र पौडेलले विधेयकमा कसले घुमाइरहेको छ ? भन्दै प्रश्न गरे ।
पौडेलले विधेयक टुंगो लगाएरमात्र बैठक बोलाउन मन्त्रीलाई आग्रह गरे ।
उनले भने, ‘अब अर्को बैठक पारित गर्नेगरी मात्रै बोलाउनुहोस्, मन्त्रीज्यूले विधेयक टुंगो लगाएर आउनुहोस् । सरकारले स्वामित्व ग्रहण नगरेर हुन सक्दैन । सभापतिलाई पनि अप्ठ्यारो होला । टुंगो लगाएर मात्रै बैठक बोलाइयोस् ।’