अफ्ताब आलमलाई उच्च अदालतले सफाइदिएपछि पिडित न्यायको लागि काठमाडौँमा

 संवाददाता    २०८२, २२ असार आईतवार १४:५८     189 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । २७ चैत २०६४ मा रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उक्त फैसलापश्चात उक्त घटनाका पीडितहरुले आफ्नो पीडा सरकारलाई सुनाउँदै काठमाडौँसम्म आउन थालेका छन् ।

उक्त घटनाका घाइते ४३ वर्षीय गौरीशंकर राम चमार अहिले काठमाडौँ आएका छन् । भारतको बिहार सीतामढीबाट उनी घटनाको फेहरिस्त सुनाउन राजधानी आएका हुन्।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित चार जनालाई जेठ १४ गते सफाइ दिएको थियो। सफाइ दिँदा न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले बिस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो।

उनले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘त्यो दिन पैसा लिन घरमा गएको थिएँ। एक जनाले पैसा लिएर गइहाल भन्यो। तर ढोकामा मात्रै पुगेको थिएँ। बम पड्कियो। आगो लागेपछि म भागेँ। घर पछाडि पानी थियो मैले पानी हालेर फेरि भागेँ।’

त्यसपछि के भएको भनेर आफूलाई थाहा नभएको पनि उनले बताए। एकैचोटि आफ्नो आँखा सीतामढीमा खुलेको उनले बताएका छन्।

पछि भारतकै सीतामढीमा रहेको अस्पतालमा उपचार गराएको र साढे ३ लाख भारतीय रूपैयाँ खर्च भएको पनि उनले जानकारी दिए।

उनले आफूले प्रहरी कार्यालयमा बयान दिन जाँदा आलमका मान्छेहरूले आफ्नी आमालाई समेत धम्क्याएको बताएका छन्।

‘सुरूसुरूमा म एसपी कार्यालयमा बयान दिन जाँदा आमालाई आलमका मान्छेले-छोरा त गयो अब केही समय बितेपछि बाँच्दैन भनेर धम्की दिएका थिए,’ उनले भने।

उक्त घटनामा पीडित चमारले पनि जाहेरी दिएका थिए। तर उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणको रूपमा अस्वीकार गरेको छ।

अदालतले उनले उपचार गरेको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्केर घाउ खत लागेको भन्ने देखिएको हुँदा बम बिस्फोटको खत रहेको झुटा ठहर गरेको हो।

उनले भने बम बिस्फोटबाट घाइते भएपछि आफूलाई काम पाउन पनि गाह्रो भएको बताए।

‘काम पाउन पनि गाह्रो छ। कतै काम पाइहालेँ भनेपनि सात/आठ दिनमै यहाँबाट पैसा लिएर गइहाल भन्छन्,’ उनले भने।

उनले पनि घटनामा आफताब आलमले सफाइ पाएको पछि मात्रै थाहा पाएको बताए।