नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन गरेर गएकोमा सभापति शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै गठबन्धन गरेकोप्रति व्यङ्ग्य प्रहार गरेका हुन् ।
‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन्,’ भण्डारीले भने, ‘त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’
आफूलाई गठबन्धनको बेलामा पनि निर्वाचनमा टिकट दिएकोमा धन्यवाद दिँदै भण्डारीले गठबन्धन गर्दा धेरै नेताहरू टिकट पाउन र जनप्रतिनिधि बन्न छुटेको बताए ।
कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ गाउँमा कांग्रेसप्रति जनविश्वास नरहेको पनि भण्डारीले बताए । ‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन,’ भण्डारीले भने– ‘हामीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन सकेनौँ । अहिलेसम्मको निचोड मेरो विचारमा यही हो ।’
उनले आगामी कात्तिक १७ गतेका लागि मिति तोकिएको रुपन्देही–३ मा गठबन्धन नगर्न सुझाव दिए । भण्डारीले भ्रातृ संस्थाका अहिलेका समिति भङ्ग गरेर पार्टीले जिम्मेवारी लिएर महाधिवेशन गरिदिनुपर्ने बताए ।
उनले भने- ‘भ्रातृ संस्थाको अधिवेशन केन्द्रमा केन्द्रीय सभापतिले गराउनुस् । प्रदेशमा प्रदेश सभापतिलाई दिनुस् । जिल्लामा जिल्ला सभापतिलाई दिएर यो अधिवेशन गराउनुस् । यो झगडा गराएर केही पनि फाइदा छैन । अहिलेका कुनै पनि भ्रातृ संस्थाका समितिको काम छैन ।’