बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज (असार २२, आइतबार) संसद्बाट पास गर्ने तयारी गरेको छ।
त्यसका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट आज पास गर्ने तयारी गरिएको हो।
असार १२ देखि जारी बजेट छलफलमा विवाद भएपछि शनिबार (असार २१) साँझ बसेको प्रदेश सभा बैठकबाट पूरक प्रस्ताव स्वीकृत भएको छ।
सत्तारुढ दलकै सांसदले बजेटमा असन्तुष्टि जनाइरहेका बेला सरकार नेतृत्वकर्ता कांग्रेसको संसदीय दलले आफ्ना प्रदेश सभा सदस्यलाई बजेटका पक्षमा उभिन ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले शनिबार साँझ नै जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८२ साल असार २२ गते आइतवारका दिन बिहान ११ बजे प्रारम्भ हुने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बागमती प्रदेश सरकारका अर्थ मन्त्रीले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गर्दछु।
बागमती प्रदेश सभामा ३७ सिटसहित कांग्रेस नै सबैभन्दा ठुलो दल हो।
सत्ता साझेदार दल नेकपा एमालेले पनि पनि आज र भोलिका लागि आफ्ना सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा उभिन ह्विप जारी गरेको छ।
एमाले बागमती संसदीय दलका सचेतक मधुसूदन पौडेलका अनुसार आजै बजेट पास गर्ने तयारी गरे पनि सांसदहरूले छलफलमा भाग लिएपछि मात्रै पास गर्नुपर्ने हुँदा नभ्याइएको खण्डमा सोमबारसम्म लाग्न सक्ने देखिएकाले दुई दिनका लागि ह्विप जारी गरिएको हो।
बागमती प्रदेश सभामा एमाले २७ सांसदसहित दोस्रो स्थानमा छ।
दुई ठुला दल मिलेर बनेको बागमती प्रदेशमा बुहमतको सरकार छ।
११० सदस्यीय प्रदेश सभामा सत्तारुढ दलका ६४ सदस्य छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ सिट छन्। सबै गरेर बागमती प्रदेश सभामा विपक्षीतर्फ ४६ सांसद छन्।