टेक्सासमा बाढी : १५ बालबालिकासहित ४३ जनाको मृत्यु

 संवाददाता    २०८२, २२ असार आईतवार १०:०४     266 जनाले पढ़िसके



Spread the love

अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्खया ४३ पुगेको छ । यसमा १५ बालबालिका पनि समावेश छन्।

सयौँ उद्धारकर्मीहरू बेपत्ता भएकाहरूको खोजीमा खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले ‘सबै जना नभेटिएसम्म खोजी कार्य जारी रहने’ प्रतिज्ञा गरेका छन्।

दोस्रो रात पनि खोजी कार्य जारी रहँदा, काउन्टी अधिकारीहरूले नदी किनारमा रहेको एक युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता रहेको बताएका छन्।

केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ।

मध्य टेक्सासका लागि सप्ताहन्तभरि बाढीको चेतावनी जारी गरिएको छ। शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सासका गभर्नर ग्रेग एबोटले खोजी कार्यलाई तीव्रता दिनका लागि विस्तारित आपतकालीन घोषणामा हस्ताक्षर गरेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले स्थानीय अधिकारीहरूसँग मिलेर आपतकालीन अवस्थामा नजिकबाट काम गरिरहेको बताएका छन्। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सङ्घीय सरकारले खोजी कार्यमा सहयोग गर्न कोस्ट गार्ड खटाउने जानकारी दिइन्।

मौसमविद्हरूले मध्य टेक्सासमा यस सप्ताहन्तमा थप बाढी आउन सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) ले उक्त क्षेत्रमा शनिबार ५ सेन्टिमिटरदेखि १२ सेन्टिमिटरसम्म वर्षा हुन सक्ने बताएको छ।
बीबीसी