जब आमिर खानलाई सेटमा लाने बसले छोडेर गयो…

 संवाददाता    २०८२, २० असार शुक्रबार १४:४२     92 जनाले पढ़िसके



Spread the love

सन् २००१ को ‘लगान’ बलिउडको आइकनिङ फिल्महरू मध्येको एकमा पर्छ । फिल्मको कथा त दर्शकलाई मन त पर्छ नै, सँगै यसको निर्माणताका किस्साहरू पनि उस्तै रमाइलो खालका छन् ।

हालै फिल्मका सहायक निर्देशक अपूर्व लाखियाले आमिर खानसँगको रोचक किस्सा सुनाएका छन् । उनका अनुसार शुटिङको दौरान उनले आमिरलाई छोडेर बस अघि बढाएका थिए । उनको त्यो हर्कतले पूरै युनिट चकित बनेको थियो ।

 

उनी ‘लगान’ मा सहायक निर्देशकको रूपमा काम गर्न अमेरिकाबाट भारत आएका थिए । त्यसो हुँदा आमिरले उनले हलिउड शैलीमा काम गरुन् भन्ने चाहेका थिए । जस अनुसार अपूर्वले कलाकार र क्रुका लागि एउटै बसको व्यवस्था गरे ।

यो क्रममा अपूर्वले एउटै नियम राखेका थिए – जो बसमा ढिला पुग्छ, ऊ छुट्नेछ । बसले ५ मिनेटभन्दा बढी कुर्दैन ।

 

अपूर्वको कुरामा आमिर पनि सहमत थिए । तर त्यसको तीन दिनपछि आमिर खान आफू नै ढिला हुन पुगे । भने अनुसार अपूर्वले करिब ५ मिनेटसम्म पर्खिए । तर आमिर आउँदै आएनन् ।

त्यसपछि अपूर्वले बसलाई अघि बढाउन लागे । आमिरका अंगरक्षक रोनित रोयले बस रोक्न खोजे । तर अपूर्वले उल्टै उनलाई बसबाट बाहिर निकालिदिए ।

त्यस बसमा आमिरकी पत्नी रीना दत्ता पनि थिइन् । उनले भने अपूर्वको कामलाई साथ दिइरहेकी थिइन् । तर सेटमा पुग्दा भने अन्य कलाकारहरू अपूर्वलाई कामबाट निकालिने कुरा गरिरहेका थिए ।

त्यसैबीच करिब डेढ घण्टापछि आमिर सेटमा आइपुगे । तर आफूलाई छाडेर गएकोमा उनी अपूर्वसँग रिसाएका थिएनन् । बरु उनले अपूर्वको कामको सम्मान गरेका थिए ।