आज नदीको बहाब उल्लेख्य बढ्ने र बाढीको जोखिमको सम्भावना उच्च रहने

 संवाददाता    २०८२, २० असार शुक्रबार ११:५६     261 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २०, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा देखिएको छ।

जिल्लाका हिसाबले आज संखुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।

साथै आज इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुमपश्चिम, रुकुमपूर्व, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाढीको जोखिम देखिएका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सुझाव दिएका छन्।

बाढी महाशाखाले जारी गरेको बुलेटिन सामाजिक सञ्जालमा सेयर गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला।’