पार्टीकै जिम्मेवार पदाधिकारीले ‘बडीसेमिङ’ गरेर मेराविरुद्ध हिंसात्मक ढङ्गले बोले : झाँक्री

 संवाददाता    २०८२, २० असार शुक्रबार ११:४९     240 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीकै जिम्मेवार पदाधिकारीले ‘बडीसेमिङ’ गरेर आफ्ना विरुद्ध हिंसात्मक ढङ्गले बोलिरहेको आरोप लगाएकी छन् । बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै झाँक्रीले असार १४ गते आफूले युवा संघ लुम्बिनी प्रदेशको भेलामा राखेका विचारहरूको सम्बन्धमा यसरी हिंसात्मक ढङ्गले बोलिरहेको बताएकी हुन् ।

‘मेरो स्पष्टीकरणका सम्बन्धमा’ विषय राखेर उनले पार्टी कार्यालयमा बुझाएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीका जिम्मेवार पदाधिकारीहरू, मिडिया र सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत मेरा विरुद्ध र राजनीतिक प्रतिशोधले व्यक्तिगत लाञ्छना लगाउँदै मेरो व्यक्तिगत स्वास्थ्य र ‘बडीसेमिङ’ गरेर हिंसात्मक ढङ्गले बोलिरहनु भएकोप्रति मेरो पनि ध्यानाकर्षण भएको छ ।’

उनीहरूले यसरी बोलिरहँदा पार्टीलाई क्षति भएको झाँक्रीको भनाइ छ । ‘पार्टी महासचिवले असार १५ गते निर्देशन जारी भएपछि पछि मैले यो विषयमा कहीँ कतै प्रतिक्रिया दिइनँ। पार्टीको मेरो तहको बैठकमा नै यो विषय कुरा राख्ने छु भनेर पनि चुप बसेको थिएँ’, उनले पत्रमा भनेकी छन्, ‘तर, पार्टी केही जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर बोलिरहनुभएको छ । प्रतिक्रिया दिइरहनुभएको छ । यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जानकारी छ भन्ने जस्ता भ्रामक कुरा बोलिरहनुभएको छ ।’

तर, आफूलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि नसोधेको झाँक्रीको भनाइ छ। यद्यपि आफ्नो अभिव्यक्तिको बारेमा उठाइएका हर प्रकारका प्रश्नहरूको जवाफ वा स्पष्टीकरण दिनका लागि मौका प्रदान गर्न उनले अनुरोध गरेकी छन् । यसअघि पार्टीकै नेताहरूले झाँक्रीलाई स्पष्टीकरण सोधिएको भन्दै आवश्यक कारबाही गरिने बताएका थिए ।

ramkumari1