राप्रपा बैठक : के-के गर्‍यो निर्णय ?

 संवाददाता    २०८२, १९ असार बिहीबार १६:१०     204 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन: पार्टीमा छलफल हुने उनले बताए ।

त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममूखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले असोजका मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारबिरुद्धको गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ ।

उक्त परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहनेछ ।

बैठकमा पार्टीको स्थानीय, जिल्ला र प्रदेश तहको अधिवेशनहरु असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णयका सन्दर्भमा आजको बैठकमा प्रगति समिक्षा गरिएको छ ।

अपेक्षाकृत रुपमा अधिवेशनहरु हुन नसक्दा विधानअनुसार यसैवर्ष गर्नुपर्ने महाधिवेशन प्रभावित बन्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय र प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको छ ।

साथै, आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण अभियान र जिल्ला अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय गरिएको छ ।

राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्नेछ ।

साथै, यसको विस्तृत कार्ययोजना पार्टी सचिवालयले तयार पार्नेछ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोश्रो साता काठमाडौँमा बस्ने राप्रपा प्रवक्ता श्रेष्ठले बताए ।