पाठकको बयान र थुनछेक न्यायाधीश भट्टको इजलासमा

 संवाददाता    २०८२, १९ असार बिहीबार ११:४६     251 जनाले पढ़िसके



Spread the love

पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ ।

विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा उपस्थित भएका हुन् । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी उनीविरुद्ध गरिएको छ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

यस्तै अभियोग पत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोग पत्रमा मागदाबी लिइएको छ ।