प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’मा सहमति विपरीत प्रावधान थपिएको भन्दै नेकपा माओवादी केन्द्रले प्रश्न उठाएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रले ‘कुलिङ पिरियड’ सहमति विपरीत परस्पर विरोधी प्रावधान थपिएको भन्दै असन्तुष्टि जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी उपाध्यक्ष अग्नी सापकोटाले भने, ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन् । यस जालसाँजीपूर्ण घटनाले सिङ्गो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।
गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न उठेको समेत बताउँदै उनले भने,यसले सार्वभौम संसद्को आत्मामाथि सिधै प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ ।
सुशासनका लागि कोशेढुङ्गा साबित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाँजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौती समेत दिएको उपाध्यक्ष सापकोटाले बताए ।
विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो,उनले भने,यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।
यस्तै नेपाल शिक्षक महासङ्घसँग संसद्बाट असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएपनि हालसम्म पारित नहुनु दुःखद भएको समेत बताए ।
सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरुहरुबिचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि भएको समेत उपाध्यक्ष सापकोटाको भनाइ छ ।
शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन माओवादी केन्द्रले आग्रह समेत गरेको छ ।
यस्तै माओवादी केन्द्रले विपद् व्यवस्थापन विभागलाई केन्द्र, प्रदेश र जिल्लास्तरमा विपद् परिचालन संयन्त्र निर्माण गर्न र स्थानीयस्तरमा घट्न सक्ने विपद्जन्य घटनाहरूमा स्वयंसेवकहरू परिचालन गरी उद्धार तथा राहतमा खट्न निर्देशन दिएको छ ।
विपद्का कारण जनधनको क्षतिको राहत तथा उद्धारको कार्यमा समयमै उचित र आवश्यक तयारी गर्न सरकारसँग माग समेत गरिएको छ । यस्तै खेतीको समयमा कृषकहरूलाई आवश्यक पर्ने मल, बिउँ सहज रूपमा उपलब्ध गराउने विषयमा सरकार उदासीन र गैरजिम्मेवार देखिएको समेत माओवादी केन्द्रले बताएको छ ।
मुलुकको कूल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरूलाई आवश्यक पर्ने मल, बिउँ तत्काल उपलब्ध गराउन सरकारसँग माग समेत गरिएको छ ।
यस्तै मध्यपूर्वको द्वन्द्वमा युद्धविरामको आधार कमजोर देखिएको सन्दर्भमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाका लागि विश्वसनीय वातावरण सुनिश्चित गर्न आग्रह गर्दै सरकारले तत्काल कूटनीतिक पहल गरी स्वदेश फर्कन चाहने नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने समेत बताएको छ