अत्यधिक मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना गरेको छ। मंगलबार विभागको छड्के अनुगमन टोलीले “इजी ट्रेड” लाई रु २ लाख ६० हजार र “एयरपोर्ट कफी एण्ड कन्फेक्सनरी” लाई २ लाख ५ हजार जरिवाना तिराएको हो।
विभागका महानिर्देशक कुमार दाहालका अनुसार, अनुगमनको क्रममा यी फर्महरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण गर्दै आएको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) र दफा ३९(१)(ख) अनुसार उनीहरूलाई कारबाही गरिएको हो।
त्यस्तै, विमानस्थलमै सञ्चालित सोल्टी होटल लगायत अन्य केही व्यवसायहरूलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सबै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
