नेपाल समाजवादी पार्टी (नयाँ शक्ती) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदीय समितिले पारित गरेको ‘कुलिङ अफ पिरियड’ जालसाजीपूर्ण ढङ्गले हटाएर संसदबाट पारित गरिएको घटना विश्व इतिहासकै निकृष्ट र लाजमर्दो भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाबाट अनुमोदित भएको सङ्घीय निजामती सम्बन्धी विधेयकमा कुलिङ पिरियड प्रभावित पार्ने गरी ‘बाहेक’ शब्द घुसाइएको घटना सार्वजनिक भएपछि भट्टराईले राजनीतिक ठगी भनेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्–‘कुलिङ अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठुलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढङ्गले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ ।’
उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठुला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुन सक्ने रहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भर्त्सना र निन्दा गरे पनि कम भट्टराईले लेखेका छन् ।
उनले अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्य प्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौँ भनेर केही वर्षदेखि नयाँ वैकल्पिक राजनीतिबारे चिच्याउँदै आएको स्पष्ट पारेका छन् ।