सानोपर्दाको सिरियलमा ‘बल्छी धुर्बे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले केहीअघि निर्माण घोषणा गरेको फिल्म ‘गोबर गणेश’ आफैले निर्देशन गर्ने भएका हुन् ।
फिल्म निर्माणका लागि उनले केही दिन अगाडि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका थिए । जसमा कलाकारमा सीतादेवी तिमल्सिना र पूजन घिमिरे राखिएको छ । पूजन घिमिरे उनकै अभिनय रहँदै आएको सिरियल ‘हल्का रमाइलो’मा ‘पुकु’को रूपमा परिचित छन् ।
फिल्ममा सीतादेवी र पूजनको अलावा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङलगायतको अभिनय रहनेछ ।
फिल्मको बजेट २ करोड बताइएको छ । मरिचमानको आफ्नै फिल्म निर्माण कम्पनी बल्छीधुर्बे फिल्मस् प्रालिले यो फिल्म निर्माण गर्न लागेको हो ।
‘मेरी बास्सै’बाट दर्शकमाझ चिनिएका उनका पछिल्लो समय सिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।
‘फिल्मको कलाकार र प्राविधिक पक्ष र छायाङ्कन मिति बिस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल घोषणा गर्दै रिलिज मिति लक गरेका छौ,’ निर्देशक श्रेष्ठले भने ‘फिल्म कमेडीको जगमा हुनेछ ।’
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल र वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।