नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्
समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना प्रस्तुत गरेसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरे ।
उनले समाज अहिले विचार विहीनताको अवस्था रहेको बताए । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको उनको भनाई थियो ।
सांसद शर्माले भने, ‘लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु हुँदैन । लोकतन्त्र सबै वर्ग, जाती र लिङ्गको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईँको सिफारिस भएको छ । खुसी व्यक्त गर्न चाहन्छु । राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचार विहीनताको अवस्था रहेको छ । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ । हाम्रा प्रगतिशील दिशाहरूबाट पछि हट्ने गरी घटनाहरू भइरहेका देखिन्छन् । एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व सबैसँग छ ।’
सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्ने नरहेको बताए ।