नेपालका सुन र चाँदी र तामाका खानी उत्खननमा बजेट परेन: सांसद आले मगर

 संवाददाता    २०८२, १५ असार आईतवार १६:११     205 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले नेपालमा सुन र चाँदीका, तामाका निश्चित खानीहरू रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै आले मगरले सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू नेपालमा रहेको भन्दै यी खानीहरू उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भन्नुभयो, ‘नेपालमा हिरा र मोती त म भन्न सक्दिन । सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू छन् । यतातर्फ यी खानीहरू उत्खनन गर्नेतर्फ, यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ पनि उद्योग मन्त्रालयले ध्यान दिनुपर्ने हुन्छ । जुन यो बजेटमा पाइँदैन । नेपालमा युरेनियम त पत्ता लागिसकेको छ । तर त्यो बारेमा यो बजेटमा कुनै कार्यक्रम छैन । युरेनियमको पनि विक्री वितरणको व्यवस्था गर्न सक्यो भने नेपालले धेरै आर्थिक फाइदा उठाउन सक्थ्यो ।’

सांसद आले मगरले घरेलु मदिराको ब्राण्डिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रम सबै प्रदेश र सबै जिल्लामा लेखिएको तर रकम जम्मा ४ हजार लेखिएको भन्दै आपत्ति जनाए । प्राविधिक त्रुटि हो भने सच्याउन आग्रह गरे ।