कम्युनिस्टहरूको नैतिकता बुर्जुवाको घुँडासम्म पनि रहेनछ : सुदन किराती

 संवाददाता    २०८२, १५ असार आईतवार १०:०५     245 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालका कम्युनिस्ट नेताहरूको नैतिक धरातल खस्किएको भन्दै तिखो टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै उनले कम्युनिस्टहरूको नैतिकता आफूहरूले भन्ने गरेको ‘बुर्जुवा’हरूको भन्दा पनि तल झरेको बताए ।

‘हामी कम्युनिस्टहरुको नैतिक उच्चाई हामीले नै भन्दै गरेको बुर्जुवाहरूको घुँडा घुँडा सम्म पनि रहेनछौँ,’ किरातीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

उनले अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको उदाहरण दिँदै नेपाली नेताहरूको पदलोलुप प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। वासिङ्टनले दोस्रो कार्यकालका लागि चौतर्फी दबाब आउँदा ‘तेस्रो पटक राष्ट्रपति बन्न भन्न पाइने छैन’ भन्ने सर्त राखेर मात्र स्वीकारेको र त्यही नैतिकता अमेरिकामा संस्कृति बनेको उनले उल्लेख गरेका छन्।

नेता किरातीले नेपाली राजनीतिमा देखिएको सुविधा भोगी प्रवृत्ति र पदका लागि हुने होडबाजीप्रति असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको ‘कम्युनिस्ट पार्टीभित्र विचलन आयो, नेताहरू पद मात्रै खोज्छन्’ भन्ने अभिव्यक्तिले आफूलाई शान्त रहन नदिएको पनि उनले उल्लेख गरेका छन् ।

‘नेपाली राजनीतिमा राज्यले दिएको सुविधा उपयोग गर्दै सम्माननीयहरूको असम्माननीय होडबाजी र अध्यक्ष कमरेड प्रचण्डको भनाइबाट म शान्त रहन सकिनँ,’ उनले लेखेका छन्।