कृषिमा प्रविधिको प्रयोग गरी उत्पादन बढाउन प्रधानमन्त्री ओलीको आह्वान

 संवाददाता    २०८२, १५ असार आईतवार ०८:२४     176 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले रोपाइँ संस्कृतिलाई नेपालको मौलिक परम्परा र उत्पादनसँग जोडिएको पर्वको रूपमा व्याख्या गरे।

‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो,’ ओलीले लेखेका छन्, ‘आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।’

उनले कृषि क्षेत्रको विकासका लागि अब आधुनिक बाटोमा जानुको विकल्प नभएको बताए। ‘अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ,’ उनले भने। यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उनले स्मरण गराए ।

ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन वृद्धि गर्न सबैलाई आह्वान गर्दै दहीचिउरा खाने दिन तथा धान दिवसको शुभकामना दिएका छन् ।