नुवाकोटमा बेपत्ता महिलाको खोजीमा तालिम प्राप्त कुकुर परिचालन

 संवाददाता    २०८२, १३ असार शुक्रबार १४:१५     265 जनाले पढ़िसके



Spread the love

नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको कुकुर परिचालन गरिएको छ । शुक्रबार बेपत्ता भएकी महिलाको खोजीमा सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीय कमला बलामी बेपत्ता भएकी थिइन् । उनको खोजीमा सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मीसहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

खोज तथा उद्धारको लागि शुक्रबार बिहानैदेखि सशस्त्रको युएन तालिम शिक्षालय ककनी, नम्बर–१९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडा बाट ६५ जना सुरक्षाकर्मी खटिएका थिए । सो ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएका थिए । उनको उद्धार गरेर उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाढीले केही चौपाया पनि बगाएको छ ।