सामाजिक सञ्जाल फेसबुक र टेलिग्राम ग्रुपको दुरुपयोग गरेर २३ लाख रुपैयाँ ठगेको आरोपमा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएर काठमाडौँको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ बस्ने १९ वर्षीय क्रिस पोखरेल छन् ।
समिर तामाङ नामको आइडीबाट फर्निचरमा लगानी गर्दा फाइदा हुने प्रलोभन देखाएर तथा अनलाइन जब लगाइदिने बहानामा उनीहरूले ठगेर फरार भएका हुन् ।
असार ११ मा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
आरोपीहरूले १ करोड ३१ लाख ६२ हजार रुपैयाँको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको एसपी बोहराले जानकारी दिए ।
उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।