त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सभामा विद्यार्थी तर्फको प्रतिनिधित्व मनोनयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ ।
सिमित क्याम्पसहरूबाट मात्रै मनोनीत गरिँदै आएको भन्दै त्रिचन्द्र स्ववियुले आपत्ति जनाएको हो । स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सभा सदस्य पारदर्शी तरिकाबाट नियुक्त गर्न माग गरेका छन् ।
त्रिविको नीति नियम तर्जुमा गर्ने सर्वोच्च निकाय ‘विश्वविद्यालय सभा’ मा स्ववियुको तर्फबाट दुई जना अध्यक्षहरू सदस्य रहने प्रावधान छ । सोही अनुसार त्रिवि कार्यकारी परिषद्ले दुई जनालाई मनोनीत गर्दै आएको छ ।
हरेक २/२ वर्षमा आवधिक निर्वाचन मार्फत विजयी हुने स्ववियु अध्यक्षमध्ये कसले सभामा प्रतिनिधित्व गर्न पाउने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन । सबै निर्वाचित अध्यक्षहरूमध्ये अपनत्व हुने गरी खुला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट हुनुपर्ने अध्यक्ष कोइरालाले बताए ।
त्रिवि कार्यकारी परिषद्ले स्वेच्छाचारी ढङ्गबाट अध्यक्षहरूको नाम सिफारिस गर्ने गरेको उनले आरोप समेत लगाए । जारी विज्ञप्तिमा भनिएको छ, ‘स्ववियुसँग औपचारिक छलफल नगरी विश्वविद्यालय पदाधिकारीहरूले आफ्नो पक्षका व्यक्तिलाई सभामा मनोनयन गर्न खोज्नु आपत्तिजनक कार्य हो ।’
त्रिचन्द्र स्ववियुले त्रिविको सूचना महाशाखामा असार दुई गते नै आवश्यक जानकारी माग गरेर पत्राचार गरिसकेको भएपनि हालसम्म कुनै आधिकारिक जानकारी नदिइएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा त्रिविका पदाधिकारीहरूले विश्वविद्यालयको स्वायत्तता, लोकतान्त्रिक परिपाटी र विधि मर्यादामा आधारित रूपमा विश्वविद्यालय सभा सदस्य मनोनयन प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
‘सङ्गठनात्मक संरचना र क्याम्पस तहमा निर्वाचित स्ववियु अझै क्रियाशील हुँदा मनोनयनको नाममा व्यक्ति छान्ने प्रयास विद्यार्थी हित विपरीत तथा त्रिवि ऐनको मर्म विपरीत छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
