काठमाडौं । भारतको उत्तराखण्डमा अमानवीय रूपमा बन्धक बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरी कैलाली ल्याइएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उनीहरूको उद्धार गरी कैलाली ल्याइएको हो । आकर्षक रोजगारीको लोभमा उत्तराखण्ड पुर्याइएका उनिहरुलाई १६ महिनादेखि बन्धक बनाइएर राखेको खुलासा भएको छ ।
पहिलो चरणमा ३५ र आइतबार राति थप २२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई १६ महिनादेखि बन्धक बनाइएको र खान बस्न नदिएर यातना दिएर राखेको खुलासा भएको छ ।
बन्धक बनाउनेहरुले आकर्षक रोजगारीका लागि शुुरुमा २०–३० हजार जम्मा गर्न लगाउने, त्यसपछि पैसा थप्न लगाउने र बिस्तारै धम्की दिएर नजिकका आफन्त र साथीभाइलाई बोलाउने र उनीहरूसँग पनि पैसा असुल्ने गरेको पिडित युवाहरुले बताएका छन् ।
उद्वार गरेर कैलाली ल्याइएका उनीहरु सबैलाई आफन्तसँग समन्वय गरेर बुझाउने प्रहरीले जनाएको छ । बन्धक बनाउने योजनाकारमध्ये तीन जनालाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिकाका २१ वर्षीय वीरेन्द्र शाही, भारतको उत्तर प्रदेश गाजिपुरस्थित खानपुरका सचिनकुमार र नैनीताल उत्तराखण्डका मनीष तिवारी रहेका छन् ।