सरकार जनचाहनाअनुसार काम गर्न असफल : अध्यक्ष साह

 संवाददाता    २०८२, ११ असार बुधबार १४:२०     207 जनाले पढ़िसके



Spread the love

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।

बुधबार गृहजिल्ला रौतहटको गुजरा नगरपालिका–बलुवा टोलमा आयोजित ‘भ्रष्टाचारविरुद्ध अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुकमा सुशासन र पारदर्शिताको माग उच्च भए पनि त्यसअनुरूप काम नभएको बताए।

उनले भने, ‘देशको हावा, पानी, जमिन, जनशक्ति र प्राकृतिक स्रोत–साधन राम्रो भए पनि नेतृत्वको कमजोरीका कारण मुलुकले अपेक्षित समृद्धि हासिल गर्न सकेको छैन। जनताको सरकारको अवधारणा बोकेर आएको व्यवस्थाले अझै जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्न सकेको छैन।’

अध्यक्ष साहले मुलुकमा बढ्दो महँगी, करका बहानामा जनतामाथिको आर्थिक भार, र सेवा प्रवाहमा देखिएको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरे। उनले सबै दलहरूलाई पारदर्शी शासन र जनमुखी विकासमा अग्रसर हुन आग्रह गरे।

उनले थपे, ‘हामीले खोजेको व्यवस्था भनेकै आम जनताको शासन हो, जहाँ जनताले आफ्नो जीवनस्तर सहज बनाउन सकून् र मुलुकको समृद्धि सबैले अनुभूति गर्न सकून्।’

कार्यक्रममा उनले लोकतन्त्रको मार्गलाई सुदृढ गर्न सबै राजनीतिक दलहरू विशेष जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे।