नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 संवाददाता    २०८२, ११ असार बुधबार ११:०८     303 जनाले पढ़िसके



Spread the love

भक्तपुर । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालले नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राष्ट्रिय युवा परिषद्को सभा हलमा एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

यस अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा मुगु, जुम्ला, भक्तपुर जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई त्रिभुबन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा.सोमप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले उद्यमीहरुलाई हौसला प्रदान गरेका थिए । ‘आफ्नो कर्ममा पसिना बगाउ“दा राम्रो आम्दानी गर्न सकिन्छ । जागिर भन्दा उत्तम व्यवसाय उद्यम नै हो ।’ बस्नेतले भने, ‘परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम, व्यवसाय गर्दा सन्तुष्टि मिल्छ ।’ अरुको जागिर गर्नु भन्दा आफ्नै उद्यम गर्न उनले प्रेरित गरे । परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम गरेर बा“च्न सजिलो भएको उनले बताए ।


परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्ष राज कार्कीले पहिलो कार्यक्रम ऐतिहासिक भएको बताए । व्यवसायको आधुनिकीकरण गर्नु अहिलेको अपरिहार्यता भएको कार्कीले बताए । यो कार्यक्रम गर्न सहयोग गरेकोमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेत र प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमलाई उनले धन्यवाद व्यक्त गरे । सञ्जालका कोषाध्यक्ष अमित कुमार दासले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै केही उदाहरणिय व्यवसायीलाई मायाको चिनो प्रदान गरिएको थियो । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको राष्ट्रिय युवा परिषद समन्वयमा भएको थियो ।