स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।
जसमा संघ सरकारबाट ५५ अर्ब ४९ करोड, प्रदेश सरकारबाट ६ अर्ब ४३ करोड स्थानीय सरकारतर्फ ३४ अर्ब ३२ करोड विनियोजन गरिएको छ ।
प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथि मन्त्रालयगत छलफलका रूपमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सीमित स्रोत भित्र अधिकतम प्रयोग गर्ने उद्देश्यले बजेट पारिएको बताए ।
निरोगी नेपालको अवधारण अनुसार फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाका रूपमा मनाइने उनले बताए । यस्तै ‘म स्वस्थ मेरो समुदाय’ कार्यक्रमका ७३६ स्थानीय तहमा जनस्वास्थ्य प्रभावकारी सञ्चालन गर्न एक-एक जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।
आयुर्वेद योग ध्यान तथा परम्परागत चिकित्सा विधिमार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने मन्त्री पौडेलले बताए ।