०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन

 संवाददाता    २०८२, ८ असार आईतवार १६:०५     264 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो ।

‘पार्टीबाट यो प्रस्ताव नै पारित गरौं भन्ने मेरो प्रस्ताव छ । कि २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौं । बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔं । देशले पत्याएको मान्छे छानौं ।’

 

थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए ।

‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौं । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येका नेताको सम्पत्ति छानबिन गर्न लगाऔं,’ थापाले भने, ‘कांग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला । जो परेपनि हामीले मान्छौं भनेर हामीले आँट गर्‍यौं भने मात्रै अबको जेनेरेशनले तिमिहरूको कुरा सुन्छौं भन्छ ।’

थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए ।

अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।