ओपनर प्रसिद्ध जैसीको अर्धशतकको मद्दतमा नेपाली युवा टोलीले मलेसियामा जारी पुरुष यू–१६ क्रिकेट इस्ट कपमा विजयी सुरुवात गरेको छ।
सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर जैशीले अविजित पारी खेले। उनले ९७ बलमा नटआउट ५५ रन बनाए।
पहिलो विकेटका लागि ओपनर सुर्याशु कोइराला र प्रसिद्ध जैसीले ८.१ ओभरमा ४१ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। ७ बलमा २ चौकाको सहयोगमा ९ रन बनाएका ओपनर सुर्यांशु रिटायर्ड हर्ट भए। विकेट किपर शिवांश बजगाई ९ रन बनाउँदै आकाश तेजाको बलमा क्याच आउट हुन पुगे
दोस्रो विकेटका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले ८८ बलमा ६३ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका रौनक श्रीवास्तव आकाश तेजाको बलमा क्याच आउट भए। जोय थापा ४ रनमा आउट हुँदा सुगम बुढाथोकी शून्य रनमै पेबेलियन फर्किए। शुभम खनाल ९ रनमा नटआउट रहे।

सिंगापरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले एक विकेट हात पारे। त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिगांपुर ३६.१ ओभरमा १ सय ३८ रन बनाउँदा अलआउट भयो।
सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए। ओपनर आहान भुधानभामले ३८ तथा रोशन अरुन ११ रन बनाउँदै पेभेलियन फर्के।
नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए। सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट आफ्नो नाममा गरे।
प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ। आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ।


