ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमै नागरिकता दिनुपर्छ : अध्यक्ष भट्टराई

 संवाददाता    २०८२, ७ असार शनिबार २०:१४     213 जनाले पढ़िसके



Spread the love

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए ।

‘नागरिकता भनेको चिज सबैभन्दा महत्त्वपूर्ण विषय हो । राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै कुरा । जतिबेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन्, तबसम्म प्रत्येक मानिसको नागरिकता हुन्छ । उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन,’ भट्टराईले भने, ‘इलन मस्कको तीन वटा देशको नागरिकता छ । बाउ दक्षिण अफ्रिकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकता छ । पछि अमेरिकामा गएर बसोवास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ । वंशजको नागरिकता खारेज हुन सक्दैन, उसले स्वेच्छाले छोड्यो भने मात्रै हो भन्ने बहस भयो ।’

नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको उनले बताए ।
संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने उनको भनाइ थियो ।

‘हाम्रै नागरिकहरुलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ । सुगौली सन्धीको बेलादेखि हो । कि त हामीले पठाउनु भएन, पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्र मौद्रिकीकरण भएकै तिनीहरुले ल्याएको पैसाले हो,’ भट्टराईले अघि भनेका छन्, ‘एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र शाहस छ भने गरौँ त्यस्तो । होइन भने उनीहरू त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरुले प्रकारान्तले नागरिकता खोस्ने कुरा भएको छ । त्यसलाई सच्याऔँ । नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन । यो लोकतन्त्र हो । सबैले लडेर ल्याएको । संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ ।’