६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ

 संवाददाता    २०८२, ६ असार शुक्रबार १६:२७     365 जनाले पढ़िसके



Spread the love

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।

भन्सार जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो। तत्कालीन अवस्थामा दिलिप भुजेलको नाममा दर्ता भएको रेडी ट्रेड प्रालिले ब्रेकशु मगाएको अनुसन्धानमा खुलेको थियो।

यसबाहेक पनि पटकपटक चीनबाट विभिन्न सामानभित्र राखेर सुन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। भन्सार विभागले सुरुवाती अनुसन्धान गरे पनि पछि यसको अनुसन्धान सीआईबीले गर्दै आइरहेको छ।

दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर अमला फरार थिइन्। अमला माओवादीको रोल्पा काठमाडौँ सम्पर्क मञ्चकी पूर्वाउपाध्यक्षसमेत हुन्।