साइबर सुरक्षाको क्षेत्रमा एउटा झस्काउने खुलासा भएको छ– हालै अनुसन्धानकर्ताहरूले १६ अर्बभन्दा धेरै पासवर्ड र लगइन विवरण चुहिएको पुष्टि गरेका छन्। फोर्ब्स डटकममा छापिएको एउटा समाचार अनुसार यसमा विश्वका प्रमुख प्रविधि कम्पनीका सामाजिक सञ्जाल, भीपीएन, डेभलपर पोर्टल र अन्य युजर अकाउन्टहरूको लगइन डाटा समावेश छन्।
यसबारे अनुसन्धानकर्ता भिलियस पेटकाउसकसका अनुसार, ३० वटा छुट्टाछुट्टै डाटासेट फेला परेका छन् । जसमा हरेकमा दशौं लाखदेखि ३.५ अर्बसम्मका डाटा छन्। यो अहिलेसम्मकै सबैभन्दा ठूलो पासवर्ड चुहावट हो भन्नेमा उनीहरूको विश्वास छ।
‘यो केवल पुराना ह्याक भएका डाटाको दोहोरो प्रयोग होइन,’ अनुसन्धानकर्ताहरू भन्छन्, ‘यो नयाँ, ठूलो मात्रामा प्रयोग गर्न सकिने संवेदनशील जानकारी हो।’ उनीहरूले यो केवल लिक मात्र नभइ सामूहिक साइबर आक्रमणको लागि ब्लूप्रिन्ट समेत भएको बताएका छन् ।
यसअघि मे २३ मा प्रकाशित रिपोर्टमा १८ करोड ४० लाख पासवर्ड चुहिएको पुष्टि गरिएको थियो। त्यो खबर आफैंमा डरलाग्दो थियो, तर अहिलेको खुलासाले त्यो संख्या धेरै गुणा पार गरेको छ।
जानकारहरुका अनुसार यी सबै पासवर्डहरू इनफोस्टिलर नामक ह्याकर ग्रुपहरूले चोरी गरेको आशंका गरिएको छ। पासवर्ड चोरी भनेको तपाईँको व्यक्तिगत डेटा र गोपनीयता खतरामा हुनु हो। यस्तो डाटा बिक्रीका लागि डार्क वेबमा खुलेआम राखिएको हुन्छ।
ह्याकरहरूले यी पासवर्डको प्रयोग गरेर तपाईँका बैंक अकाउन्ट, सामाजिक सञ्जाल र कामसँग सम्बन्धित खाताहरूमा पहुँच प्राप्त गर्न सक्ने खतरा हुन्छ ।
अब के गर्न सकिन्छ ?
पुराना पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस्।
सकेसम्म दुई तहको प्रमाणीकरण प्रयोग गर्नुहोस्।
पासवर्ड म्यानेजर प्रयोग गरेर बलियो र फरक पासवर्ड बनाउनुहोस्।
अपरिचित लिंक वा एमएमएसमा नथिच्नुहोस्।