मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुन मङ्गलबार नै बैंकक पुगे;

 संवाददाता    २०८२, ४ असार बुधबार १५:३८     213 जनाले पढ़िसके



Spread the love

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रीय ‘ह्यान्ड–इन–ह्यान्ड’ (एचआइएच) पहल अन्तर्गतको उच्चस्तरीय लगानी संवादमा सहभागी भएको छ ।

मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुन मङ्गलबार नै बैंकक पुगेको थियो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री अधिकारीसँगै विभिन्न मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि एफएओका प्रतिनिधि केन शिमिजु पनि सहभागी छन् ।

प्रतिनिधिमण्डलले थाइल्याण्डमा रहँदा विभिन्न उच्चस्तरीय बैठक र लगानीकर्ताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कृषि मन्त्रालयले जनाएको छ । भेटवार्ताहरूले दिगो कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि प्रभावकारी साझेदारी स्थापना गर्न सहयोग पुर्‍याउने अपेक्षा कृषि मन्त्रालयले गरेको छ ।

एफएओ नेतृत्वमा सञ्चालित ह्यान्ड–इन–ह्यान्ड पहलमार्फत नेपालले समावेशी ग्रामीण विकास, जलवायु प्रतिरोधी कृषि प्रणाली, तथा खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य लिएको कृषि मन्त्रालयले जनाएको छ ।