एमालेको विधान महाधिवेशन: समयमै हुनेमा आशङ्का

 संवाददाता    २०८२, ३ असार मंगलवार ०९:१८     218 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भनिएको छ । तर तयारी त्यसअनुसार बढ्न सकेको देखिँदैन ।

गत माघमा बसेको सचिवालय बैठकले २०८२ साल भदौ २०, २१ र २२ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार काशीनाथ अधिकारी नेतृत्वको संगठन विभागले सबै कमिटीलाई विधान महाधिवेशनमा समेट्नुपर्ने विषय केन्द्रमा पठाउन पार्टीलाई प्रस्ताव गरिसकेको छ ।

संगठन विभागका सचिव माधव ढुङ्गेलले ८२ वैशाखमै सुझाव सङ्कलनको मिति प्रस्ताव गरेका थिए । तर विभागको उक्त प्रस्तावमाथि पार्टी सचिवालय बैठकले अहिलेसम्म निर्णय नै गर्न सकेको छैन । सचिवालयले निर्णय गर्न ढिलाइ गर्दा सुझाव संकलनलगायत प्रक्रिया अघि नै बढ्न नसकेको नेताहरू बताउँछन् ।

विभागले गरेको प्रस्तावमा पार्टीका सबै कमिटी र कार्यकर्ताले पार्टीले लिनुपर्ने नीति र विधिबारे राय सुझाव सङ्कलन गर्नुपर्ने र त्यसका लागि २०८२ जेठ मसान्तसम्म सुझाव सङ्कलन गरेर पार्टी केन्द्रमा पठाउन भनिएको थियो । तर यसमा पार्टी सचिवालयले थप निर्णय नगर्दा सुझाव सङ्कलनको कामको थप प्रक्रिया अघि बढ्न नसकेको हो ।

अहिलेसम्म प्रक्रिया अघि नबढ्दा भदौको मिति प्रभावित हुन सक्ने कतिपय नेताहरूको बुझाइ पनि छ । ‘असार लागिसक्यो, वर्षाको समयमा धेरै नेता कार्यकर्ता खेतीकिसानीको काममा लाग्नुपर्छ,’ एक नेताले भने, ‘यो हिसाबले मिति केही वरपर हुन सक्ने सम्भावना छ ।’

 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम विधान महाधिवेशनको तयारीबारे असार दोस्रो साता बस्ने सचिवालय बैठकले निर्णय गर्न सक्ने बताउँछन् । ‘अहिले महासचिव शंकर पोखरेल देशबाहिर हुनुहुन्छ, उहाँ असार ८ मा काठमाडौँ फर्केपछि सचिवालय बैठक बसेर यसबारे आवश्यक निर्णय हुन्छ,’ गौतमको भनाइ छ । गौतमले पनि भदौका लागि तोकिएको मिति थपघटबारे अहिले नै केही भन्न नसकिने बताए ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारी पनि सचिवालय बैठकको निर्णयको प्रतीक्षामा रहेको बताउँछन् । ‘विधान महाधिवेशन सर्ने सम्भावना त न्यून देखिन्छ, तर पार्टीको आन्तरिक गतिविधि र बाह्य परिस्थितिमा पनि निर्भर हुन सक्छ,’ उनी भन्छन्, ‘राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्छ, तर विधान महाधिवेशनले पार्टीको नीति बनाउँछ, त्यस कारण यसमा फराकिलो ढङ्गले लाग्नुपर्छ ।’

‘क्रमशः तयारीहरू अघि बढ्छन्,’ उनले भने, ‘विधान महाधिवेशनसँग जोडिएका धेरै कामहरू हुन्छन् । यो नीति र विधिको महाधिवेशन हो ।’

एमालेले पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा २०७८ असोजमा गरेको थियो । जसले नीति र विधि तर्जुमा गरेको थियो । त्यसपछि एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सोही वर्षको मङ्सिरमा चितवनमा सम्पन्न भएको थियो ।

एमालेको विधानमा प्रत्येक पाँच वर्षमा राष्ट्रिय महाधिवेशन हुनुपर्ने छ । विधान अनुसार आगामी २०८३ मङ्सिर दोस्रो साता ११ औँ महाधिवेशन हुनुपर्छ ।

विशेष परिस्थितिमा ६/६ महिना थपेर महाधिवेशन एक वर्ष पछि सार्न सकिने पनि संवैधानिक व्यवस्था छ ।

संगठन विभाग सचिव ढुंगेल जेठभित्र विधान महाधिवेशनका लागि सुझाव सङ्कलन सक्न सचिवालयलाई भने पनि त्यसबारे थप निर्णय नभएको बताउँछन् । भन्छन्, ‘सचिवालयले त्यसलाई एक्सनको इस्यु बनाइसकेको छैन ।’ र अब असारमा बस्ने सचिवालय बैठकले विधान महाधिवेशनको काममा पार्टी केन्द्रित हुने उनले विश्वास व्यक्त गरे ।

‘विभागले अलि चाँडै निर्णय गर्‍यो, समय अझै छ । त्यसैले अब सचिवालय बैठक बसेर प्रक्रिया अघि बढ्न सक्छ,’ ढुंगेलले भने, ‘विभागका तर्फबाट गर्नुपर्ने काम गरेर सचिवालयलाई ह्यान्डओभर गरिसकेका छौँ, अब सचिवालयको निर्णय र सर्कुलर आएपछि काम सुरु हुन्छ ।’

असार र साउन बाँकी नै रहेकाले तोकिएकै मितिमा विधान महाधिवेशन हुने आफू विश्वस्त रहेको उनले बताए ।