इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ

 संवाददाता    २०८२, २ असार सोमबार ०९:४२     636 जनाले पढ़िसके



Spread the love

इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमा भारतको हिमाञ्चल प्रदेश निवासी ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गर्दा झोलाभित्र १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएको गहना तथा विभिन्न प्रकारका माला फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गहना सुनचाँदी व्यवसायी संघ, बिर्तामोड झापा लगेर परीक्षण गर्दा जलप लगाएको पुष्टि भएको हो। पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको प्रहरीले जनाएको छ।