अहमदाबाद विमान दुर्घटनामा निधन भएका गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको डीएनए मिलेको छ।
अब उनको शव परिवारलाई हस्तान्तरण गरिनेछ र राजकोटमा दाहसंस्कार गरिनेछ।
उक्त विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको छ।
तीमध्ये आइतबार बिहानसम्म २४८ शवको डीएनए नमुना लिइएको छ। जसमध्ये ३१ वटा मिलेका छन् र यीमध्ये २० शव परिवारलाई हस्तान्तरण गरिएको छ।
एम्बुलेन्समार्फत शवहरू उनीहरूको गृहनगरमा पुर्याइँदै छ। यसका लागि २३० टोली गठन गरिएका छन्।
१९२ एम्बुलेन्स र सवारीसाधन तयारी अवस्थामा छन्।
एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान लन्डनका लागि भनेर यही जुन १२ तारिख (जेठ २९) दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलबाट उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो।
जसमा रहेका चालक दलका सदस्यसमेत २४२ जनामध्ये एक यात्रु मात्र बाँचे भने भवनमा खसेकाले विमानबाहिरका पनि ३४ मानिसको मृत्यु हुँदा शवको संख्या २७५ पुगेको हो।