फिल्म ‘महाराजधिराज’बाट अभिनेता पल शाह बाहिरिएका छन् । फिल्ममा कुनैपनि भूमिकामा नरहने गरेर उनी बाहिरिएका हुन् ।
निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लीले फिल्मलाई लिएर पल शाहसँग भएको सम्झौता अन्त्य गरिएको बताएको हो । कम्पनीले एक सूचनामार्फत बिहीबारबाट पल शाहसँगको सम्झौता अन्त्य गरिएको जानकारी दियो ।
फिल्मका लागि गत कात्तिक १४ मा पलसँग साझेदारी सम्झौता भएको थियो । यस विषयलाई लिएर आउँदा दिनमा दुवै पक्षबाट कुनै कुराकानी नहुने र तेस्रो पक्षबाट आउने प्रश्नको विषयमा पनि दुवै पक्षले जबाफ नदिने जनाइएको छ ।
फिल्मबाट शाह बाहिरिएका हुन् वा उनलाई प्रोजेटबाट हटाइएको हो । यो विषयमा दुवै पक्षले केही बताएको छैन ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा कलाकारको रूपमा सबैभन्दा पहिले पल अनुबन्धित भएका थिए । त्यसपछि आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, उषा रजक लगायतका कलाकारहरू भित्रिएका थिए ।
फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुन् भने निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का छन् । फिल्म छिट्टै छायाङ्कनमा जाने तयारी गरिरहेको छ ।