समाचार हटाउने आदेश दिनु र पक्राउ पुर्जी जारी गरिनु संविधानको भावनाविपरीत: माओवादी केन्द्र

 संवाददाता    २०८२, ३० जेष्ठ बिहीबार १६:५१     295 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले समाचार समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएको छ।

बिहीबार उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरेका छन्। ‘पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित छ।’

मिडियाबारे हेर्ने निकाय प्रेस काउन्सिल भएको भन्दै माओवादी केन्द्रले त्यसलाई छलेर सरकारले दमनको नीति लिएको समेत आरोप लगाएको छ।

‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सरकारले प्रत्यक्ष रुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्म बिरुद्ध छ।’