मेयर बालेन शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी;

 संवाददाता    २०८२, ३० जेष्ठ बिहीबार १६:४९     323 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन लिफ्ट जडान गरेको भन्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन्।

‘उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले केही महिनाअघि महानगरमा बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘विशेषत सो लिफ्ट मेयर वालेन्द्र शाहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ।’

 

लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरित समेत भएकाले त्यसमा भएको भ्रष्टाचारको छानबिन गर्न समेत माग गरिएको छ।

‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ, ‘अतः तत्काल काठमाडौँ महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडानसम्बन्धी टेण्डर, बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवं भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुहुन प्रस्तुत उजुरी पेस गरेको छु।’