भारतीय प्रान्त मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन भनेर भारतकै अर्को प्रदेश मेघालय पुगेको राजा रघुवंशी उनकै नवविवाहित पत्नी सोनम रघुवंशीकै षड्यन्त्रमा मारिएको घटना यतिबेला भारतीय सञ्चारमाध्यमका प्रमुख शीर्षक बनिरहेको छ।
उक्त हत्याकाण्डमा सोनम, उनका प्रेमी र भाडामा लगाइएका ३ युवकलाई मेघालय प्रहरीले पक्राउ गरिसकेको छ।
उक्त घटनामा नयाँ-नयाँ रहस्य खुलासा भइरहेका छन्।
यसैबीच भारतीय पत्रिका अमरउजालाले पतिको हत्यापछि सोनम नेपाल भाग्न चाहेको उल्लेख गरेको छ।
गत मे ११ मा विवाह गरेका राजा र सोनम हनिमुन मनाउन भनेर मे २० का दिन इन्दौरस्थित घरबाट मेघालय प्रस्थान गरेका थिए।
तर मे २३ देखि उनीहरू एकाएक परिवारसँग सम्पर्कविहीन भए।
प्रहरीलाई खबर भएपछि खोजीका क्रममा जुन २ तारिखका दिन २९ वर्षीय राजा रघुवंशी मेघालयस्थित पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिए। तर सोनम बेपत्ता थिइन्।
तर अन्तत: उनी १७ दिनपछि सोमबार उत्तर प्रदेशको गाजीपुरमा फेला परिन्। प्रेमीसँग मिलेर भाडाका मान्छे लगाएर पतिको हत्या गराएको आरोपमा यतिबेला उनी प्रहरीको हिरासतमा छिन्।
हत्या आरोपमा प्रहरीले उनीसँगै उनका प्रेमी भनिएका राजा कुशवाहा, विक्की ठाकुर, आनन्द र आकाशलाई पनि गिरफ्तार गरेको छ।