सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी

 संवाददाता    २०८२, २७ जेष्ठ सोमबार १३:४६     243 जनाले पढ़िसके



Spread the love

जेठ १३ गतेदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच छलफल भइरहेको छ । सोमबार संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

प्रतिपक्षी दलहरूको बैठक लगत्तै दुई पार्टीका नेताहरूबिच बैठक सुरु भएको हो । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको प्रतिबद्धता नआएसम्म सदन खोल्न नदिने बताएका छन् । कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सकेपछि अध्यागमनको काम कारबाहीबारे छानबिन समिति बनाउन सक्ने बताएको छ । यसैमा कुरा मिलेको छैन ।

रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले कांग्रेससँग सदनको गतिरोध अन्त्यका लागि छलफल भइरहेको जानकारी दिए । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।

अवरोध खुलाउन सत्तारुढ दल कांग्रेसले अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका निमित्त के कस्ता संरचनागत कानुनी सुधार गर्नुपर्छ त्यसबारे सरकारले के के काम अगाडि बढाउन पर्छ भनेर सुझाव दिन समिति बनाउने भन्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको छ । कांग्रेसको त्यो प्रस्ताव मान्न प्रतिपक्षी दलहरू तयार भएका छैनन् ।

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ ।