नेपाली फिल्म ‘परिवर्तन’को छायाङ्कन सुरु भएको छ । शनिबार झापाको चारआलीस्थित पाथिभरा मन्दिरमा विशेष पूजा–अर्चनासहित फिल्मले छायाङ्कन सुरु गरेको हो ।
विजय केरुङ निर्देशक रहेको फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा फिल्मको छायाङ्कन हुनेछ ।
यसै वर्षभित्र प्रदर्शन हुने फिल्मको पहिलो सट सुशील र अञ्जनाले दिएका थिए ।
दीपक सिवाकोटी निर्माता रहेको फिल्म दिब्यासी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको हो । नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि फिल्मले उजागर गर्ने बताइन्छ ।
फिल्ममा सुशील र अञ्जना सहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको अभिनय रहनेछ ।
पटकथा तथा संवाद शिवम अधिकारीको रहेको फिल्ममा छायाङ्कन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व श्री श्रेष्ठले, नृत्य कमल राईको रहेनछ ।
‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा फिल्म निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।