काठमाडौं । लगानी बोर्डले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत गरेको छ ।
बिहीबार बसेको बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।
५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।
बैठकले ७५० मेगावाट क्षमताको १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।
त्यसैगरी बोर्डले ४३ दशमलव २ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी पनि स्वीकृत गरेको छ । बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।