पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना प्रतिवादी विरुद्ध मुद्दा दायर

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १५:२०     218 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ ।

सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उनी सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी/गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरुलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ ।

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी/गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्वन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगले उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने दाबी गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले उक्त मुद्दा दर्तासम्बन्धी पत्र सङ्घीय संसद् सचिवालयमा पुगिसकेको राससलाई जानकारी दिए ।

यी हुन् मुद्दा दायर भएका उच्चपदस्थहरू

– माधवकुमार नेपाल- तत्कालीन प्रधानमन्त्री

– तत्कालीन कानुन तथा न्यायमन्त्री तथा विधेयक समिति संयोजक प्रेमबहादुर सिंह

– तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ

– तत्कालीन मुख्यसचिव स्व.माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे

– भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशी

– भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव कलानिधी पौडेल, उपसचिवहरू गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसी

– भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ

– भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा। शाखाअधिकृत सीताराम पोखरेल र नासु बुद्धिबहादुर कार्की

– मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन अधिकृत प्रेमबहादुर देसार

– मालपोत कार्यालयका काभ्रेपलाञ्चोकका नासु केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा

– मालपोत काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं, मालपोत अधिकृत वेदप्रसाद अर्याल, शाखा अधिकृत शिवहरि शर्मा सुवेदी, नासुहरू विनोद कोइराला, तुलामणि राजमण्डारी, कृष्णप्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमागाईँ

– गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन कायममुकायम कार्यालय प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधवप्रसाद होमागाईं

– तत्कालीन सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट

– पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह