के हो पूर्वसभामुख अग्नि सापकोटा मुछिएको अर्जुन लामा हत्या प्रकरण ?

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार ०८:५९     247 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अनलाइनखबरसँग भने, ‘सर्वोच्चबाट आएको आदेश राम्रो संकेत होइन, यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कुरामा पोजेटिभ म्यासेज दिएन ।’

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अग्नि सापकोटा संलग्न भएको भन्दै उनलाई सजाय माग दावी गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

बुधबार सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको थियो ।

के हो पूर्वसभामुख अग्नि सापकोटा मुछिएको अर्जुन लामा हत्या प्रकरण ?
सर्वोच्च अदालतको आदेश अनुसार नै सत्य निरुपण र बेपत्ता छानबिन आयोगको कानुन बनिसकेको अवस्थामा सापकोटा विरुद्धको द्वन्द्वकालीन मुद्दा आयोगमै पठाउनुपर्ने माओवादी केन्द्रका उपमहासचिव शर्माको भनाइ छ ।

‘द्वन्द्वकालीन मुद्दा टुंग्याउन र पीडितलाई परिपूरणको व्यवस्था गर्न आयोग बनेको छ । अदालतले भने अनुसार नै कानुन बनिसकेको छ । कानुनमा पनि उजुरीहरुमा छानबिन गरेर कारबाही सिफारिस गर्ने व्यवस्था छ । यी सबै व्यवस्था हुँदाहुँदै द्वन्द्वकालीन मुद्दालाई आयोगमा पठाउनुपथ्र्यो,’ शर्माले भने, ‘तर सर्वोच्चबाट जुन खालको निर्णय आयो, त्यसले शान्ति प्रक्रियालाई मद्दत पुर्‍याउँदैन ।’

उनले सर्वोच्चको आदेशलाई नेपालको शान्ति प्रक्रिया टुंग्याउने काममा चुनौतीको रुपमा लिएको समेत बताए । ‘यो राम्रो संकेत होइन, यस्तो नहुनुपर्थ्यो,’ शर्माले भने, ‘यसले अनावश्यक आशंका र विवाद निम्त्याउँछ ।’

माओवादीका अर्का नेता नारायणप्रसाद शर्माले सापकोटामाथि प्रहार भएको भन्दै यसको सशक्त प्रतिरोध हुनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अग्निजी माथिको यो प्रहार सबै माओवादीप्रति आक्रमणको प्रतिक्रियावादी र प्रतिगामी षडयन्क्रको एक सुरुवाती हिस्सा हो । यसको सशत्त प्रतिरोध गर्नुपर्छ ।’