पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण, ५ जना घाइते

 संवाददाता    २०८२, २२ जेष्ठ बुधबार १३:३३     1050 जनाले पढ़िसके



Spread the love

पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् ।

बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 

पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

 

उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

उक्त नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।

पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।