नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिविरुद्धको रिटमाथि अन्तरिम आदेशका लागि आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा ओझाको नियुक्तिविरुद्धको रिटको पेसी तोकिएको हो ।
यसअघि सर्वोच्चले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्तिविरुद्ध रिट दायर गरेकी थिइन् ।
प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नभएको व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग रिटमा गरिएको छ । सरकारले फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।