नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि एकै दिन ८० अर्ब रुपैयाँ तानेको थियो ।
राष्ट्र बैँकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।