२ अर्ब ५० करोडभन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ

 संवाददाता    २०८२, १९ जेष्ठ आईतवार ११:२८     237 जनाले पढ़िसके



Spread the love

२ अर्ब ५० करोडभन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बलहियाबाट पक्राउ गरेको हो।

सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए।

हिजो (शनिबार) पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले जानकारी दिए।

करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ।