गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन : सांसद खतिवडा

 संवाददाता    २०८२, १४ जेष्ठ मंगलवार १६:३४     428 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले प्रश्न गरे, ‘ज-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ? ‘

सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

 

‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्दछ । गल्ति भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ,’ उनले भने ।

गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने खतिवडाले तर्क गरे ।

 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका उनले भने, ‘अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नका लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको सुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनका लागि मात्र राखिएको छ ।’

छानबिन गर्न पाइने भए पनि उजुरी परेकै आधारमा राजीनामा माग्न नहुने तर्क उनको छ । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।