भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा ११ जनाबाट बिगो भराउन माग

 संवाददाता    २०८२, १४ जेष्ठ मंगलवार १४:५७     218 जनाले पढ़िसके



Spread the love

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा ११ जनाबाट बिगो भराउन माग गरिएको छ।

२०८१ चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो।

त्यस क्रममा ११ जनाले भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति पुर्‍याएको अभियोग छ।

तर यसमध्ये २ लाख ४३ हजार ७४ रुपैयाँका सामान बरामद गरिसकेकाले अभियोग लगाइएका ११ जनाबाट ७७ लाख ८९ हजार ३१ रुपैयाँ ५२ पैसा मात्र बिगो भराउन माग गरिएको हो।

उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा प्रतिवादी बनाएर छुट्टै अभियोग दायर गरिएको छ।

यो कसुरमा श्रवण कुमार लामा, समिर मगर, एलिसा भन्ने लक्ष्मी राई, आशिक कुमार महतो, गोविन्दा राय, सुशीला कुमाल, निर्मला कार्की, प्रेमकुमार महतो, राधेश्याम यादव, रवि रञ्जन कुमार सिंह र दिनेश महतोलाई यो बिगो भराउन माग गरिएको छ।

यीमध्ये निर्मला कार्की फरार रहेकाले उनलाई पक्राउ गर्न पुर्जी जारी गर्न पनि माग गरिएको छ।

आपराधिक उपद्रवको कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।