राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरे।
उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गरे। उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन सुरु नभएसम्म संसद् चल्न नदिने चेतावनी दिए।‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन,’ खनालले भने, ‘यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ। अनुसन्धान हुनुपर्छ।’
उनले थपे, ‘राजीनामा आउनुपर्छ। तर हामी राजीनामा मात्रै माग्दै छैनौँ। संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर छानविन गर्न एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद् चल्न सक्दैन।’